ताजा समाचार

हुम्ला जिप दुर्घटना : मृतक चारैजनाको सनाखत

काठमाडाैँ । सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति भएको दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ।

शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ  र  ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

दुर्घटनामा परी एक वर्षको बच्चासहित सातजना घाइते भएका छन्। घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ का प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।

जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो। जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए। राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए। अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org