ताजा समाचार

उखु किसान पुन: सडकमा, रित्तो हात घर नफर्किने

काठमाडौं। चिनी उद्योगहरूले उखु किनेबापतको रकम नदिएपछि उखु किसानहरू दोस्रो पटक आन्दोलनमा उत्रिएका छन्।

उखु किसान संघर्ष समितिको नेतृत्वमा आजदेखि काठमाडौंको माइतीघरमा बाँकी रकम भुक्तानी गर्न र गराइदिन दबाब दिँदै आन्दोलन सुरू भएको छ।

यसअघि, गत वर्षको पुसमा उखु किसानहरूले माइतीघरमै बाँकी रकम भुक्तान गर्न भन्दै आन्दोलन गरेका थिए। तत्कालीन समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको मध्यस्थतामा उद्योगीले बाँकी रकम भुक्तानी गर्ने सहमति जनाएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए।

तर, त्यसको एक वर्षपछिसम्म पनि पैसा नपाएको भन्दै पुनः आन्दोलनमा उत्रिएको समितिका सचिव हरिश्याम यादवले जानकारी दिए।

उनले भने, “अघिल्लो वर्ष पनि हामी आन्दोलनमा थियौं। तर, अहिलेसम्म बाँकी रकम पाइएको छैन।”

अब भने सबै बाँकी रकम लिएर जाने उनको भनाइ छ। सबै चिनी उद्योगले अहिले किसानको ९० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको यादवले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी श्रीराम सुगर मिलले ४२ करोड भुक्तानी दिन बाँकी छ। त्यस्तै अन्नपूर्ण सुगर मिलले ३० करोड, लुम्बिनी सुगर मिलले ८ करोड बाँकी रहेको उनले जानकारी दिए।

यस्तै, महालक्ष्मी सुगर मिलले ३ करोड र वागमती र इन्दिरा सुगर मिलले ५/५ करोड दिन बाँकी रहेको समितिले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org