ताजा समाचार

उद्योगमन्त्री भट्टकै अगाडि उखु किसानको नाराबाजी

काठमाडौं । उखु किसानहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै अगाडि नाराबाजी गरेका छन्। माइतीघरमा आन्दोलनरत किसानहरूले मन्त्री भट्टले किसानको मागबारे केही सम्बोधन नगरी हिँडेपछि प्रदर्शनमा उत्रेका हुन्।

मन्त्री भट्ट आज माइतीघरमा किसानहरूको समस्‍या समाधान गर्ने उद्‍देश्‍यले आन्दोलनकारीसँग भेट गर्न गएका थिए। उखु किसानको बाँकी पैसा तत्काल सबैको भुक्तानी गर्नुपर्ने माग किसानको छ।

‘हामीले उखुको पैसा पाउन बाँकी छ भनेर निवेदन गरी दाबी गरिसकेका छौँ,’उखु किसान राकेश मिश्रले भने,‘पटक–पटक उपत्यकामा आउन नपरोस् भन्ने हाम्रो धारणा हो। तर, सरकारले आलटाल गर्‍यो। उद्योग मन्त्रालयले २०७१/०७२ को पैसा दिन बाँकी छैन भन्नु भो तर,हामीले पाएका छैनौँ।’

सबै किसानको माग एकैपटक सम्बोधन गरिनुपर्ने उनको माग छ। किसानहरूको नाराबाजी अघि उद्योग मन्त्री भट्टले कार्यविधि बनाइएको बताउँदै नगरपालिकाबाट सिफारिस लिएपछि बाँकी पैसा पाइने बताए। उनले भने,‘यहाँ जे जे मागहरू राख्नुभएको छ मन्त्रालयमा छलफल गरेर समाधान गर्छौं।’

किसानहरूको आन्दोलनमा सहभागी हुन शुक्रबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माइतीघर पुगेका थिए। उनले किसानहरूको आन्दोलनमा कांग्रेसले ऐक्यबद्धता जनाएको बताउँदै सम्बोधनसमेत गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org