ताजा समाचार

माघ २८ मा इतिहासकै ठूलो विशाल जनप्रदर्शन गर्ने प्रचण्ड-माधव पक्षको घोषणा

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले माघ २८ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने भएको छ। यस समूहको केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंमा आयोजना हुने यस जनप्रदर्शनलाई हालसम्मकै (इतिहासकै) विशाल बनाउनेबारे पनि कार्ययोजना बनाएको बताइएको छ।

बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ।

बैठकलाई अध्यक्षद्वय ‘प्रचण्ड’ र नेपालले सम्बोधन गर्दै आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे।

उनीहरूले केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिए।

प्रचण्ड-माधव पक्षले ९ माघमा काठमाडौंमा सभा गरेको थियो। आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने  उनीहरूको भनाइ छ।

प्रचण्ड-माधव पक्षले आज बिहीबार बुटवलमा विरोधसभाको आयोजना गरेको छ। सभालाई दिउँसो करिब १ बजे अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड- माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org