ताजा समाचार

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना

काठमाडाैँ । प्रदेश १ को प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आजका लागि बोलाएका हुन्।

सत्तारुढ नेकपा फुटको असर प्रदेश १ को प्रदेशसभामा पनि परेको छ। आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। सत्तापक्षभित्रै टकराब बढिरहेको बेला बस्न लागेको आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

आजको बैठकमा सभामुख भण्डारीले मुख्यमन्त्रीविरुद्धको अविश्वासका प्रस्ताव पेस गर्ने कार्यसूची छ। तर मुख्यमन्त्री राई पक्ष भने प्रदेशसभा बैठक नै बस्न नदिने तयारीमा लागेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री राईनिकट मानिने नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संघीय संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र नेकपा औपचारिकरुपमा विभाजन पनि नभएको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य नभएको दाबी गरेका छन्।

तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सत्तापक्षबाटै प्रदेशसभा बैठक बस्न नदिने षड्यन्त्र हुनु संसदीय व्यवस्था विरोधी कदम भएको बताएका छन्।

नेकपाकै सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे पनि प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने अझै आफ्नो कित्ता प्रष्ट गरिसकेको छैन।

प्रदेश १ सभाका ९३ सांसद छन्। जसमा नेकपाका मात्रै ६७ जना छन्। त्यसैगरी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना सांसद प्रदेशसभामा छन्। नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईको पक्षमा २८ सांसद मात्रै देखिएका छन्।

प्रचण्ड–नेपाल समूहमा ३४ सांसद उभिएका छन् भने दुई जना तटस्थ छन्। प्रदेशसभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ। कांग्रेसको समर्थनविना नेकपाका दुबै खेमालाई सरकार टिकाउन र ढलाउन आवश्यक संख्या पुग्दैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org