ताजा समाचार

संविधानको व्याख्या त्यहाँ के लेखिएको छ भन्ने आधारमै हुनुपर्छः वरिष्ठ अधिवक्ता कार्की

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताएका छन् ।

संवैधानिक इजलासलाई राय दिँदै उनले भने, ‘सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आयो ।’

कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिएका छन् । उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाए । उनले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो । ‘जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा पर्‍यो भनिरहेका छन्,’ उनले भने ।

यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो ।

कुनै पनि संविधान लेखनको सुरुवात गर्दा कस्तो मान्यतामा लेख्ने भन्ने निर्क्योल हुने कार्कीले बताए । उनले नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको पनि बताए । उनले राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राखे । ‘संसदीय व्यवस्थामा जाने भनेपछि संविधान लेखियो । धारा ७४ मा लेखियो कि बहुलवादमा आधारित हुने, प्रतिस्पर्धात्मक लोकतान्त्रिक हुने र संघीय गणतन्त्रात्मक हुने भनियो । यसमा हामी अलमलिनुपर्ने कारण छैनन्,’ उनले भने ।संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उनको भनाइ थियो । सरकारले संसद्को विश्वासमा काम गर्नुपर्ने, विश्वास छ कि छैन भन्नेबारे विश्वासको मत लिनुपर्ने तथा जसले सरकार हटाउन चाहन्छ उसले संसद‍्मा अविश्वासको मत पारित गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताए । ‘संसद्को विश्वास हुँदासम्म सरकारले काम गर्ने र नहुनासाथ विश्वासको मत लिने । जसले हटाउन चाहन्छ उसले अविश्वासको मत पारित गर्नुपर्ने हो । त्यो विश्वासको मत संसद्‍मा नै लिने हो, अन्त परीक्षण गर्न भएन,’ उनको राय थियो ।

संविधान सही ढंगले कार्यान्वयन नभएको अवस्थामा त्यसको पीडा र परिणाम कति भोग्नुपर्ने हो भन्ने कुरा अन्योल रहेको कार्कीको भनाइ थियो ।

संविधानको व्याख्या त्यहाँ जस्तो लेखिएको छ, त्यसै आधारमा हुनुपर्ने पनि कार्कीले सुझाए । उनले भने, ‘संविधानको व्याख्या मैले गर्दा र श्रीमान्‌ले गर्दा पनि कानुनअनुसार गर्नुपर्छ । आफूखुसी गर्न पाइँदैन ।’ संविधान लेखनका आधारमा आएका कुराहरूलाई आधार नमानी लेखिएको संविधानमा के आएको छ त्यो आधारमा व्याख्या गर्न उनले सुझाए ।

संसद्को विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको तर त्यसका लागि सर्त रहेको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org