ताजा समाचार

प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

काठमाडौं । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरु रहने छन् ।

सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

प्रचण्ड-माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org