ताजा समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

काठमाडाैं । दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो।

बहस सुरू भएको एक महिना पछि एमीकस क्युरीमध्येका चारजनाले बिहीबारसम्म बहस सकेका छन्। आज वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सुझावस्वरूप बहस गर्नेछिन्।

यसअघि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरिसकेका छन्।

गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ गतेदेखि  निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। सुनुवाइमा रिट निवेदक, सरकारी तर्फबाट, एमीकस क्युरीले सुझावस्वरूप बहस गरेका छन्।

कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org