ताजा समाचार

कोरोनाविरुद्धको १० लाख डोज खोप आज भारतबाट आउँदै

काठमाडौं ।  कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउन लागेको जानकारी दिए। उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ,मन्त्रालयका महाशाखा प्रमुखहरु, परिवार कल्याण महाशाखाका प्रमुख बालस्वास्थ्य तथा खोप शाखा प्रमुख, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखका विज्ञहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

त्यसैगरी, औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने कर्मचारी तथा सफाइकर्मीलाई पनि लगाउने पाउने निर्णय भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org