ताजा समाचार

पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडाैँ । पिँडुला देखाएको भरमा केपी शर्मा ओलीले सांसद बनाएको नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन्।

पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीले बताएकी छिन्।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्।

पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियाेमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएकाे बताएका छन्।

‘पाेइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ।

यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै राेकिएकाे टिप्पणी गरेकी छिन्।

‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन्।

उनले अगाडि भनेकी छिन्, ‘विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?’

वलीले पूर्विया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको र प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको बताउँदै एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुने पनि बताएकी छिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org