ताजा समाचार

योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र

ताप्लेजुङ दोभान बजारका अग्निपीडितले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । दीर्घकालीन पुनर्स्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्दै उनीहरूले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए । उक्त आगलागीमा परी डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको हो । अग्निपीडितले सांसद भट्टराईको संयोजकत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरेका छन् ।

आगलागीका कारण आवासविहीन भएका पीडितलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको भट्टराईले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्दारको काम सुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने थापाको भनाइ छ । आवासको लागि भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने थापाले बताए ।

तत्काल राहतस्वरुप गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैँयाको दरले रकम पठाएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org