ताजा समाचार

सदर चिडियाखाना पुगेर प्रधानमन्त्रीले भने:`एकसिंगे गैँडाको खुवाउने एक महिनाका लागि खर्च म व्यहोर्छु´

काठमाडाैँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले ‘एडप्ट एन एनिमल’ अर्थात् वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको छ । सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा कोषले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत अब चिडियाखानाका वन्यजन्तुलाई आवश्यक आहारा, उपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने भएका छन् । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले चिडियाखानामा भएको एकसिंगे गैँडालाई अभिभावकत्व लिने घोषणा गरे ।

‘एकसिंगे गैँडाको खुवाउने खर्च एक महिनाका लागि आफैँ व्यहोर्छु । त्यसपछि एक वर्ष भने नेपाल सरकारले व्यहोर्नेछ’, प्रधानमन्त्री ओलीले भने ।

कोरोनाकालभर नै आफ्नो पारिश्रमिक दान गरेको हुनाले श्रीमती राधिका शाक्यको पेन्सनबाट नै एकसिंगे गैँडाको एक महिनाको खर्च आफूले व्यवहोर्ने प्रतिबद्धता ओलीले ठ्टयौली भावमा सुनाए ।

‘नेपालमा मात्रै पाइने हुँदा वास्तविक धर्तीपुत्र र रैथाने जनावर एकसिंगे गैँडा मात्रै हो । उसलाई नेपाल यति प्यारो छ, नारायणीको किनार यति प्यारो छ कि ऊ नेपाल छाडेर अमेरिका जाँदैन’, एकसिंगे गैँडाको बखान गर्दै अभिभावकत्व ग्रहण गर्नुको कारण उनले खुलाए ।

साथै ज्येष्ठ नागरिक, अशक्त मानिस तथा गर्भवतीलगायतका आगन्तुकलाई लक्षित गरी चिडियाखानालाई चारवटा विद्युतीय बग्गी दिने घोषणासमेत उनले गरे । त्यसो त वन्यजन्तु अभिभावकत्व अभियानमा ओलीलगायत अन्य ६ जनाले पनि विभिन्न वन्यजन्तुको अभिभावकत्व ग्रहण गरे ।

हाल चिडियाखानामा १ सय १० प्रजातिका १ हजार १ सय ६१ वन्यजन्तु छन् । चिडियाखाना संरक्षण गर्नका लागि कोषलाई दिएको जिम्मेवारी २५ वर्ष पूरा भएको अवसरमा ‘एडप्ट द एनिमल’ अभियान मनाइ कोषले विश्व वन्यजन्तु दिवस मनाएको हो । बुधबारदेखि नै चिडियाखानाले विद्युतीय टिकटको पनि व्यवस्था गरेको छ ।                                                         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org