ताजा समाचार

आयल निगमका प्रबन्ध निर्देशक भन्छन्- पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा निगमको भूमिका हुँदैन

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने जनाएको छ ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताए ।

आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने उनको भनाइ थियो । डलरको दर, क्रुड आयलमा बढ्ने दर र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्य घटबड हुने उनले बताए ।

समाचारमा आए जस्तो निगमको आन्तरिक व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनको दाबी छ । आयल निगमको खर्च धान्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ ।

‘निगमको खर्च, कर्मचारी खर्च आउँछन्, त्यो पनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ बिक्री गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ,’ उलने भने, ‘त्यसले पेट्रोलियम पद्धार्थको मूल्यमा कुनै पनि असर आउँदैन । यो मूल्य बढ्नमा सरकारको, निगमको कुनै पनि ठूलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको उनको दाबी छ । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

‘मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनै पनि पोइन्टमा आएर ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ,’ उनले भने ।

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैँया कायम गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org