ताजा समाचार

खोप निर्यात तत्कालका लागि बन्द गर्ने भारतको निर्णय, नेपालसहित १९० देश प्रभावित हुने

काठमाडाैँ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्नका लागि सम्झौता गरेका छन् ।

तर संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेको हो ।

महामारीको दोस्रो लहर सुरु भएको र संक्रमण दर बढ्दो क्रममा रहेकाले आफ्नै देशमा जारी खोप अभियानका लागि आवश्यक पर्ने भन्दै भारत यस्तो निर्णयमा पुगेको हो ।

निर्णय अस्थायी रहेको बताएका सरकारी अधिकारीका अनुसार अप्रिलको अन्तिमसम्म खोपको निर्यात प्रभावित हुनेछ ।

भारतको यो निर्णयका कारण भारतबाट किन्न चाहेका तथा कोभ्याक्स अन्तर्गत खोप पाउने सूचिमा रहेका विश्वका झण्डै १९० देश प्रभावित हुने भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा विश्वका गरिब देशमा पनि खोपको समान पहुँच कायम गर्ने उद्देश्यसहित कोभ्याक्स अभियान स्थापित भएको हो ।

भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युड अफ इन्डिया (एसआइआइ) ले पछिल्लो दिनमा एस्ट्राजेनेकोको खोप विभिन्न देशमा पठाउन बन्द गरेको छ । यसबाट बेलायत तथा ब्राजिलसहितका देश पनि प्रभावित भएका छन् ।

भारतले हालसम्म विश्वका ७६ देशमा खोपको ६ करोड डोज निर्यात गरेको छ ।

भारतमा पछिल्ला दिनमा संक्रमण बढ्दो क्रममा छ । बुधबार ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो भने २७५ जनाको मृत्यु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org