ताजा समाचार

चैत २१ देखि दाङकाे लमहीमा बलियो नेपाल कप हुने

काठमाडौं ।  बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहने छ ।

आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।

विश्वका धनाढ्यमध्येका एक विल गेट्सको विल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले चौधरी फाउन्डेशनलाई अनुदान सहायता प्रदान गरेको रकमबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाललाई सन् २०३९ सम्म विश्वकप जिताउने नाराका साथ प्रतियोगिता घोषणा गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बलियो नेपाल पोषण कार्यक्रमका सदस्य छन् ।

पारसले एउटा उद्देश्य बनाएमा लक्ष्य पुग्न सजिलो हुने जनाउँदै पौष्टिक आहार र क्रिकेटको सहकार्यले राम्रो भविष्य संकेत गरेको जनाए । बैंकर शाहले गन्तव्यमा पुग्न उद्देश्य बनाउनु पर्ने जनाए । बलियो नेपाल पोषण कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्यायले नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बलियो नेपालले क्रिकेटबाट लक्ष्यमा पुगिने आशा लिए ।

बिहीबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशको आठै जिल्लामा ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिने क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । चैत २१ देखि २८ सम्म दाङको लमहीमा प्रतियोगिता हुनेछ । आयोजकले सबै टिमको सम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । त्यसका लागि केही स्थानमा यसअघि नै क्रिकेट किट्स प्रदान गरिसकिएको उनले जनाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org