ताजा समाचार

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो। सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको छ। नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। यो  निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहलेपार्टीमा समानान्तर कमिटी गठन गरिरहेको  छ।

यसै बीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने रनहुने टुङ्गो लागेको छैन। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org