ताजा समाचार

चार्ल्स शोभराजले सीधै पत्रकारसँग नभेटेको अध्ययन समितिकाे निष्कर्ष

काठमाडौँ । केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराजले सीधै पत्रकारसँग भेटेको नदेखिने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन अध्ययन समितिले तयार पारेको छ।

‘बिकिनी किलर’ का रुपमा परिचित रहेका फ्रान्सेली नागरिक शोभराज एक अमेरिकी तथा एक क्यानडेयिन महिलाको हत्या अभियोगमा गएको १७ वर्षदेखि केन्द्रीय कारागारमा छन्। शोभराज सन् २००३ मा पक्राउ परेका हुन्।

तर उनको अन्तर्वार्तामा आधारित समाचार केही दिन पहिले डेलीमेल र मिररमा प्रकाशित भएको थियो। त्यसपछि उनले कसरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेल भित्रैबाट अन्तर्वार्ता दिए भन्ने बारे अनुसन्धान गर्न जेलर लक्ष्मीप्रसाद बाँस्कोटाको संयोजकत्वमा आन्तरिक समिति गठन गरेको थियो।

‘हामीले अध्ययन गर्दा शोभराजले सीधै पत्रकारसँग जेलमै कुराकानी गरेको देखिँदैन’, जेलर बाँस्कोटाले भने, ‘आफन्त तथा साथीभाइसँग गरेको कुराकानी नै रेकर्ड गरेर पत्रकारलाई दिएको र त्यसकै आधारमा खबर प्रकाशित भएको देखिन्छ। हामीले सोही अनुसारको प्रतिवेदन बनाएर गृह मन्त्रालय पठाएका छौँ।’

जेलमा रहेकाहरुले हप्ताको दुईपटक १५–१५ मिनेट आफन्त, परिवारजन तथा साथीभाइसँग कुराकानी गर्न पाउने व्यवस्था छ। सोही बेला गरिएको कुराकानी नै पत्रकारले प्रयोग गरेको हुन सक्ने जेलर बाँस्कोटाले बताए।

शोभराजले फ्रान्स, अमेरिका र बेलायतमा नियमित फोन गर्ने गरेको पनि उनले जानकारी दिए। श्रीमती, छोरी तथा साथीभाइ भनेर कुराकानी गर्ने र अधिकांश समय अंग्रेजी र केही बेला फ्रेन्चमा कुराकानी हुने गरेको जेलर बाँस्कोटाले बताए।

सामान्य कुराकानी हुने गरेकाले आफूहरुले खासै चासो नदिएको भए पनि कसरी खबर प्रकाशित हुने गरि विस्तृतमा कुराकानी भयो भन्ने यकिन नभएको उनले बताएका छन्।

पछिल्लो समय शोभराजले कुनै पनि नयाँ नम्बरमा टेलिफोन गरेको नदेखिने जेलर बाँस्कोटाले बताए। उनले भने, ‘टेलिफोन रेकर्ड हेर्दा पनि उनले विगतमा गर्ने गरेकै नम्बरहरु देखिएका छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org