ताजा समाचार

जसले चिनियाँ नागरिकको डेरामा लुटपाट मच्चाए

काठमाडौँ । प्रहरीले चिनियाँ नागरिकको डेरामा पसेर लुटपाट मच्चाउने चार जनालाई समातेको छ ।

सोमबार राती ९ बजे युन छियोमेनको ठमेलस्थित डेरामा लुटपाट गर्नेहरु आज आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

अनुहार छोपेका लुटेराहरूले ठमेल बस्ने युनको डेरामा पसेर निजकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश र पासाङलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिएका थिए । त्यसपछि हातखुट्टा टेपले बाँधेर लुटपाट गरी फरार भएको महानगरीय प्रहरी कार्यलय काठमाण्डौंले जानकारी दिएको छ ।

पीडितका अनुसार उनीहरूले नगद २० लाख रुपैयाँ,सुनको तिलहरी १ थान,सुनको औंठी २ थान, बच्चाको सुनको बाला २ थान, सुनको बाला २ थान र कानको मुन्द्रा २ थान चोरेर भागेका थिए ।

प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित शिवचोकबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका २८ वर्षीय फूलकाजी तामाङ,शिवचोकस्थित आफ्नै घरबाट २४ वर्षीय अमिर तामाङ,काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाबाट २८ वर्षीय बुद्ध तामाङ र शनिबार गोकर्णेश्वरबाटै २८ वर्षीय रोशन लामालाई पक्राउ गरेको परिसरका उपरिक्षक रमेशकुमार बस्नेतले बताए ।

प्रहरीले पक्राउ गरेका अभियुक्तको साथबाट नगद सात लाख बयान्नब्बे हजार पाँच सय रुपैयाँ, चिनियाँ युआन छ हजार एक सय सत्तरी,तिलहरी १ थान,बच्चाको सुनको बाला २ थान, मुन्द्रा २ थान, सुनको औंठी २ थान र हातमा लगाउने सुनको बाला १ थान बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org