ताजा समाचार

काठमाडौंको प्रदूषण घटेन‚ आज पनि विश्वकै प्रदूषित शहर

काठमाडौं । राजधानी काठमाडौं आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा नम्बर १ मा रहेको छ। हिजो पनि सोही सूचीमा रहेको थियो।

केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएको छ। घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ। आज बिहान काठमाडौंको क्युआई ३१० रहेको छ। प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि हिजोदेखि भने बढ्न थालेको हो।

वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले औँल्याउने गरेका छन्। वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिँदै गएको छ।

मंगलबार बिहान काठमाडौंपछि बंगलादेशको ढाका, भियतनामको हानोइ, भारतको दिल्ली तथा म्यानमारको यांगुन शहर लगातार दोस्रो, तेस्रो र चौथो, पाँचौ स्थानमा रहेका छन्। काठमाडौंबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको देशभित्रका अन्य सहरमा रुपन्देहीको सिद्धार्थनगरको क्युआई २७९, नेपालगञ्जको क्युआई २३० र पोखराको क्युआई २१४ छ।

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका हुन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन्। नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।

यसअघि उपत्यकामा चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो। प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org