ताजा समाचार

स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ ।

“हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,” उनले भने ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, “स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन ।”

उनले लकडाउनमा जाने अवस्था आउन नदिन यसो गर्नुपरेको बताए ।  उनले आग्रह नमाने कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

तर शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले बाह्रखरीसँग कुरा गर्दै भने, “विद्यालय बन्द गर्नेबारेमा यसअघि नै कार्यढाँचा तयार पारिएको छ । सोहीअनुसार सम्बन्धित तहले नै निर्णय गर्न सक्नेछन् ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org