ताजा समाचार

नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

काठमाडौं । कीर्तिमानी जितसहित नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको फराकिलो जित निकाल्दै उपाधि उचालेको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा भुटानललाई १४१ रनले पराजित गरेको थियो ।

घरेलु मैदानमा ११ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको हो । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जितेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको बलियो लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुनुपूर्व ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सले दोस्रो ओभरको पाँचौँ बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेदरल्यन्ड्सका टोभियस भेसे २ रन बनाउँदै रन आउट भएका थिए । उनलाई कमलसिंह ऐरीको बलमा आसिफ शेखले डाइरेक्ट हितमार्फत रन आउट गरेका हुन् ।

नेदरल्यान्ड्सका वेन कोपर ७ रन बनाएर दोस्रो विकेटको रुपमा आउट भए । उनलाई चौथो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले क्याच आउट गराएका थिए । कमलको बलिङमा कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका थिए ।

नेदरल्यान्ड्सले बास डी लिडको रुपमा तेस्रो विकेट गुमाएको थियो । नेदरल्यान्ड्सका डी लिड १ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीको बलमा कुशल भुर्तेलले रन आउट गरे ।

त्यसपछि नेदरल्यान्ड्सको लगातार विकेट पतन भयो । नेदरल्यान्ड्सले चौथो विकेटको रुपमा म्याक्स ओ’डोडलाई गुमाएको थियो । उनी २० रन बनाएर बोल्ड आउट भए । उनलाई करण केसीले छैटौं ओभरको चौथो बलमा आउट गरेका थिए ।

नेदरल्यान्ड्सले स्कोट एन्डरको रुपमा पाँचौँ विकेट गुमाएको थियो । स्कोट ५ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले सातौँ ओभरको चौथो बलमा एलबीडब्लू आउट गरे ।

करण केसीले नेदरल्यान्ड्सको छैटौँ विकेट आठौँ ओभरको चौथो बलमा पतन गराए । करणले एन्टोनियो स्टोललाई क्याच आउट गराएका हुन् । करणको बलमा सोमपालले क्याच आउट गरे ।

नेदरल्यान्ड्सले १०औँ ओभरको दोस्रो बलमा सातौँ विकेट गुमायो । नेदरल्यान्ड्सका पिटर सेलर १३ रन बनाएर आउट भए । उनलाई करणले बोल्ड आउट गरे ।

सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा नेदरल्यान्ड्सले १२ ओभर ५ बलमा आठौँ विकेट गुमायो । नेदरल्यान्ड्सका फिलिप्पे बोइसोभिनलाई सन्दीपले क्याच आउट गराए । सन्दीपको बलमा सन्दीप जोराले क्याच आउट गरेका थिए ।

१४ ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सले नवौँ विकेट गुमायो । नेदरल्यान्ड्सका पाउल भान मेकेरन ५ रन बनाएर आउट भए । उनलाई कमलसिंह ऐरीले क्याच आउट गराए । कमलको बलमा कुशलले क्याच आउट गरेका हुन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले ७७ रनको योगदान गरे । कुशल मल्लले ५० रन जोडे । दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । आसिफ शेख १६ रन बनाएर आउट भएका हुन् । नेपालले ९ ओभर ३ बलमा दोस्रो विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र ३३ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेलको रुपमा नेपालले तेस्रो विकेट गुमाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org