ताजा समाचार

उपत्यकाका सीडीओहरू बैठक बस्दै, थप कडाइ गर्ने तयारी

काठमाडौँ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दाबी गरेको छ ।

ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौं । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।

यस्तै भक्तपुर जिल्लाका सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरुको बैठक काठमाडौंमा बस्न लागेको हो ।

उनका अनुसार सबै जिल्लाले के गर्ने भनेर सोमबार दिउँसोसम्म केही निर्णय आउने सम्भावना छ । ‘अवस्था जटिल हुँदै गएको छ । त्यसैले उपत्यकाको हकमा के गर्ने भनेर उहाँहरूले हिजो पनि छलफल गरेर एउटा निर्णय गर्नुभयो,’ उनले भने, ‘आज पनि सीसीएमसीको सिफारिसमा केही निर्णय होला ।’

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार सोमबार बिहान डी–सीसीएमसीको बैठक बसेर कहिले देखि निषेधाज्ञा जारी गर्ने निर्णय गर्नेछन् । ‘हामीले नयाँ कुनै निर्णय गरेको होइन, ६ गते जारी गरेका आदेशहरुलाई पालना गराउन सिफारिस गरेको मात्रै हो,’ उनले भने, ‘हामीले ६ गते नै अवस्था हेरेर जिल्ला प्रशासनले निर्णय लिन सक्छ भनिसकेका हौं । त्यसैलाई अब कार्यान्वयन गर भनेको हो ।’

मन्त्री त्रिपाठीका अनुसार केही दिनका लागि निषेधाज्ञा जारी हुने भएकाले सर्वसाधारणलाई केही तयारी गर्ने समय पनि दिनुपर्ने भएको बताए । उनका अनुसार डी–सीसीएमसीले काठमाडौं उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा लागू गर्न सक्छ । ‘अहिलेलाई निषेधाज्ञा मात्रै हुन्छ । तर, यसले पनि स्थिति नियन्त्रणमा नआउने अवस्था भएको खण्डमा भने लकडाउन नै गर्न जरुरी हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो लक्ष्य मान्छेको आवागमनलाई मात्रै नियन्त्रण गर्नु हो । त्यो निषेधाज्ञाबाटै सम्भव हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org