ताजा समाचार

काठमाडौंका अस्पताल भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल

काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुस्किल परेको छ।

तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ।

जसमध्ये ८१८ जनाको आइसोलेनसमा, ९८ जनाको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

‘बिरामी फर्काउन पनि सकिँदैन,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘त्यसैले हामीले ३ वटा बेड इर्मेजेन्सी वार्डअगाडि थपेका छौँ । के गर्नु यस्तो बेला त उपचार गर्नै पर्‍यो नि ।’

उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसँगै कोभिड अस्पतालहरूमा बेडको संख्या अपुग हुने थालेको छ । अधिकांश अस्पताल संक्रमितले भरिएका छन् ।

डा. सागर भन्छन्, ‘यदि यही अनुपातले बिरामीको संख्या बढ्ने हो भने हामी टेकुको आँगनमा पनि संक्रमितको उपचार गराउनेछौँ ।’

कोभिडको दोस्रो लहर हप्ता दश दिनमा उत्कर्षमा पुग्दानपुग्दै सतुंगलस्थित एपीएफ अस्पताल पूरै कोभिड अस्पतालमा परिणत भइसकेको छ । एपीएफ अस्पतालले बेड क्षमता १४० भए पनि हाल १४५ जना संक्रमितको उपचार गराइरहेको छ । त्यतिमात्रै नभएर शंकास्पद संक्रमितको छुट्टै उपचार गराइरहेको छ ।

यसरी क्षमताभन्दा बढी संक्रमितको उपचार गर्नुपर्ने स्थिति प्रत्येक अस्पतालको नियति बनेको छ । वीर अस्पतालले बुधबार ७६ बेडमा संक्रमितको उपचार गराइराखेकोमा संक्रमितको संख्या बढेसँगै बिहीबार एकैदिन १६ वटा बेड थपेको छ ।

त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा हाल १२२ जना संक्रमितहरूको उपचार भइरहेको छ । टिचिङ अस्पतालका फोकल पर्सन डा. सन्तकुमार दास भन्छन्, ‘बेड संख्या यति उति भन्ने भएन । बिस्तारै हामी नन कोभिडलाई पनि कोभिड वार्ड बनाउँदैछौँ ।’

हाल तीव्र रूपमा कोभिड संक्रमण फैलनेमा नेपाल पहिलो नम्बरमा परेको छ । बिहीबार एकै दिन ४ हजार ३ सय ८१ संक्रमित थपिएका छन् । प्रत्येक दिन संक्रमणको दर बढेसँगै अस्पतालहरूमा भीड बढ्न थालेको छ । डा. सागर भन्छन्, ‘सामान्य रुघा खोकी लागेर कोभिडको डरले मात्रै पनि आउने धेरै जना छन् । उहाँहरूलाई भने हामी परामर्श दिएर पठाइरहेका छौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org