ताजा समाचार

कालंगा हाइड्रोले दियो १० सिलिण्डर अक्सिजन जिल्ला अस्पताल बझाङ र बुङ्गल नगरपालिकालाई

बझाङ । कालंगा हाइड्रोले बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर दिएको छ ।                                देशभर अक्सिजन अभावले संक्रमितले धमाधम ज्यान गुमाइरहेका बेला बझाङमा निर्माणाधिन कालंगा हाइड्रो प्रा.लि.ले जिल्ला अस्पताल र बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो । हाइड्रोले ७ हजार लिटर अक्सिजन क्षमताका ८ वटा सिलिण्डर जिल्ला अस्पताललाई र २ वडा सिलिण्डर बुङ्गल नगरपालिकाले निर्माण गरेको त्रिवेणी आदर्श क्याम्पसमा बनाइएको आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेको मेकानिकल इन्जिनियर तथा प्रोजेन्ट इन्चार्ज गणेश अधिकारीले बताउनुभयो ।

कोरोना महामारी बढ्दै गएका बेला जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजनको समस्या हुने भएकाले कालंगा हाइड्रोले परियोजना निर्माणका लागि राखिएका सिलिण्डरहरु जिल्लाका स्वास्थ्य संस्था र आइसोलेसनलाई सहयोग गरेको बताएको छ ।

हाइड्रोले सहयोग गरेका १० वटा सिलिण्डरबाट ७० हजार लिटर अक्सिजनको व्यवस्थापन हुने र स्वास्थ्य संस्थामा रहेका अक्सिजन वितरण गर्न उपकरणका आधारमा एउटै सिलिण्डरबाट एक जनाभन्दा बढीलाई अक्सिजन दिन मिल्ने प्रोजेक्ट इन्चार्ज अधिकारीले बताए।

यस्तै अहिले बुङ्गल नगरपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । नगरपालिकाले निर्माण गरेको कफलसेरी कोभिड अस्पतालमा १७ जना उपचार गराइरहेका छन् भने त्रिवेणी आदर्श क्याम्पसको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ६ जना रहेको बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक बसन्तराज जोशीले बताउनुभयो । संक्रमित हुनेमा बुङ्गल नगरपालिकामा कार्यरत ६ जना स्वास्थ्यकर्मी, एक जना पत्रकार र अन्य २७ जना सर्वसाधारणहरुलाई कोरोना संक्रमण देखिएको जोशीले बताए । संक्रमित १ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ रेफर गरिएको छ भने अन्य ३३ जनाको अवस्था सामान्य रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org