ताजा समाचार

बजेट अधिवेशनका लागि संसद् सचिवालयको तयारी पूरा

काठमाडौं । संघीय संसद् सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ।

संविधानअनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ। तर, अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन। यद्यपि, संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ। सचिवालयले अब भने समय घर्किसकेकाले प्री बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ।

प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए।

उनले भने, ‘प्रि–बजेटलाई त संभव देखिएन। १५ दिन अगाडि भन्ने छ। जेठ १५ को अगाडि। त्यो हामीले समय गुजारीसकेका छौँ। अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन्। त्यसको लागि १-२ दिनभित्रै यदि बैठक आव्हान भइहाल्यो भने, बैठकलाई छोटो तरिकाले सञ्चालन गरेर सीमित संख्यामा माननीय सदस्यहरुलाई समय उपलब्ध गराएर, दलीय प्रतिनिधित्वको हिसाबले सहमति गरेर सञ्चालन गर्ने हो भने त्यति ठूलो समस्या छैन। यो १५ दिनको अवधिमा हामी त्यो काम गर्न सक्छौँ।‘

प्रवक्ता पाण्डेले कोभिड १९ को महामारी तीव्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ। तर भर्चुअल बैठकका लागि कानुनी संरचनाले बाधा पुर्‍याउने उनले बताए।

संविधान र  संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने अवस्था नरहेको उनले बताए। तर, त्यस किसिमको अवस्था आएमा प्राविधिक रुपमा सचिवालय दुरुस्त रहेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org