ताजा समाचार

बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले  बताए ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए ।

बैठकले प्रदेश सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै त्यसका लागि धन्यवाद दिएको र अब कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुन आग्रह गरिएको उनले बताए ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । संसदीय बोर्डका सदस्य अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना सदस्यले पार्टीविरुद्ध गतिबिधि गरेको आरोप लगाइएको छ । बोर्ड बैठकमा तीनै जना नेता उपस्थित थिएनन् ।

स्पष्टिकरण सोधिएका सांसद यी हुन् ।                                   १) अष्टलक्ष्मी शाक्य २) राजेन्द्रप्रसाद पाण्डे ३) अरुण प्रसाद नेपाल ४) वसन्त प्रसाद मानन्धर ५) रचना खड्का ६) कृष्ण प्रसाद शर्मा खनाल ७) शान्तिप्रसाद पाैडेल ८) मुनु सिक्देल ९)मिना ज्ञावली १०) बसुन्धारा हुमागाई ११) लक्ष्मण लम्साल १२) कुशम कुमार कार्की १३) इन्द्रमाया गुरुङ १४) पार्वती सिलवाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org