ताजा समाचार

आजदेखि निषेधाज्ञामा कडाइ : पसल नै खोल्‍न नपाइने आदेशमा के छ ?

काठमाडाै । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि एक साताका लागि थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायको संयुक्त बैठकले कडा प्रावधानसहित आजदेखि जेठ २० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

एक साताको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । त्यस्तै सर्वसाधारणको आवतजावतलाई पनि पूर्ण रुपमा बन्देज गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

त्यस्तै कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारी साधन सञ्चालनमा पनि कडाइ गरिएको छ भने सबै प्रकारका सार्वजनिक र नीजि निर्माण कार्यलाई स्थगन गर्ने तथा निर्माण सामाग्री बोकेका सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइने पराजुलीले बताए ।

प्रशासनले लगाएको निषेधाज्ञा उल्‍लंघन गरेको पाइने कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको पराजुलीले जानकारी दिए । त्यस्तै बैठकले यसअघि जारी गरिएका सवै प्रकारका पाससमेत खारेज गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।

यसैबीच काठमाडौँ उपत्यकामा अब फोन गरेमा घरमै खाद्यान्‍न आइपुग्‍ने व्यवस्था भएको छ । उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै वैकल्पिक व्यवस्था गरिएको हो ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फोन गरे खाद्य सामाग्री घरमै आइपुग्‍ने काठमाडौँ जिल्‍ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना जारी गरेको छ ।

‘कतै खाद्यान्‍न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्‍न खरिद विक्रिको व्यवस्था मिलाइएको’ जारी सूचनामा भनिएको छ ‘खाद्यान्‍न सम्बन्धी जुनसुकै समस्या भएमा निम्‍नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।’

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनको आलोचना भइरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org