ताजा समाचार

सभामुखबारे ओलीको टिप्पणी– प्रचण्डका कार्यकर्ता हुन् भन्दैमा जे पनि गर्ने ?

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकर्ता भनेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफूजस्तै ‘सम्माननीय’ पदमा रहेका सापकोटाबारे यस्तो टिप्पणी गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखले विभिन्न बैठक, अन्तर्क्रिया गर्न दिएकोप्रति ओलीको आक्रोश छ । ‘संसद् भवनमा तथाकथित् बुद्धिजीवीको भेला, नागरिक समाजका अन्तर्क्रिया, पत्रकार सम्मेलन गर्ने हो ? त्यसैका लागि त्यो भाडामा लिइएको हो ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो, त्यो कानुनभन्दा माथि हुने ?,’ ओलीले भने ।

यद्यपि, यही मात्र आफ्नो टाउको दुखाइको कारण भने नरहेको उनले बताए । ‘मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्‍याउँछ ? लोकतान्त्रिक प्रणाली र मौजुदा संविधान । संविधानको आवश्यक संशोधनप्रति मेरो विरोध छैन । तर, संविधान नै च्यात्ने दिशातिर उहाँहरू जाँदै हुनुहुन्छ । अनि उल्टै स्यार हुइँया मच्चाउँदै हुनुहुन्छ– केपी ओलीले संविधान च्यात्यो । चुनावमा जाऔँ भन्दा संविधान च्यातेको हुन्छ ? उहाँहरूको हातमा सरकार गयो भने त चुनावै हुँदैन ।

ओलीले माधव नेपालको आलोचनामा थुप्रै शब्द खर्च गरे । माधव नेपाल मदन भण्डारीविरोधी भएको आरोप पनि उनले लगाए ।

‘एमालेको वरिष्ठ हुँ भन्ने, एमाले नै ध्वस्त पार्न लागिपर्ने, कांग्रेसको सरकार बनाउन लाग्ने ।  दुनियाँको लोकतान्त्रिक इतिहासमा माधव नेपालजति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन पार्टीले भोट लियो, जुन आदर्शका लागि भनेर ढाँटेर हिजो भोट लियो, त्यसैलाई धोका दिने’, ओलीले भने, यो बीचमै राजीनामा दिनुपर्दैन ? मैले नयाँ पार्टी खोलेँ, नयाँ विचार अँगाले भन्नुपर्दैन ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org