ताजा समाचार

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन्।

स्रोतका अनुसार भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले त्यसबारे संकेत गरेका थिए।

‘अध्यक्ष ज्यू,ले आजको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्न लागेको संकेत गर्नुभयो,’ माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद दिनानाथ शर्माले तिमल्सिनाको भनाई उधृत गर्दै नेपालखबरसँग भने, ‘तपाईहरुलाई पत्र एक, दुई दिनमै आउँछ।’

नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो।

यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो।

‘अहिलेसम्म राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने गरिएको छ,’ एक राष्ट्रिय सभा सदस्यले भने, ‘एकल सदनलाई मात्र सम्बोधन गर्न लागेको यो पहिलो अभ्यास हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि जेठ ८ गते भण्डारीले विघटन गरेकी थिइन्।

प्रतिनिधि सभा नभएकोले राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्न लागेको बताइएको छ।

यद्यपि यो अभ्यास भने पहिलो पटक भएकोले दलहरुले पत्र प्राप्त भएपछि मात्र प्रतिक्रिया दिने बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org