ताजा समाचार

संक्रमण नबढे सोमबारदेखि लामो दुरीका सवारी साधन पनि चल्ने

काठमाडौँ । आउँदो आइतबारसम्म सबै किसिमका गाडी नचलाउन यातायात व्यवसायीहरू सहमत भएका छन्।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बिहीबार भएको संयुक्त छलफलपछि यातायात व्यवसायीहरु आउँदो आइतबारसम्म पर्खिन सहमत भएका हुन्।

व्यवसायीहरुले यसअघि प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने निर्णय गरेका थिए।

सोमबारदेखि कोभिडको अवस्था हेरेर जोरबिजोर नभई सबै किसिमका यातायात चलाउने नेपाल यातायात मजदुर संघले जानकारी दिएको छ।

यातायात व्यवसायी र मजदुर सङ्गठनले शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने भनी काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए ।

गत १५ गतेदेखि तीन वटै जिल्ला प्रशसनले जोरबिजोरका आधारमा २५ सिट क्षमताभन्दा माथिका स्थानीय गाडीमात्रै चलाउन निर्देशन जारी गरेका थिए । व्यवासायी र मजदुरका सङ्गठनले जोरबिजोर नमान्ने र सबै किसिमका गाडी एकसाथ चलाउने चेतावनी दिएका थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

यातायात व्यवसायीका अनुसार कोरोना भाइरस संक्रमण दर नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन्। संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय लागु हुनेछ। व्यवसायीहरुले यातायात सञ्चान गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ। यदि अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org