ताजा समाचार

संसद् विघटन मुद्दा : सभामुख र सांसदका तर्फबाट आज यी वकिलले गर्दै छन् बहस

काठमाडाै । प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस सुरु हुने भएको छ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ।

निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए।

गत असार ९ गतेबाट बहस सुरु भएको हो। सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए।

जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ। जवाफी बहस आजै सकिने सम्भावना कम छ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दै छन्।

उनीहरूको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पेस गरेको दाबी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसदै विघटन गरेपछि सर्वाेच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।

जसमध्ये देउवासमेत १४६ सांसदको हस्ताक्षरमा हालिएको निवेदनमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गरिएको छ।

जुन मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा भइरहेको छ।

देउवाको रिट निवेदनको फैसला गरेपछि मात्रै अन्यबारे निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org