ताजा समाचार

सिन्धुलीगढी नेपाली शूरता र वीरताको प्रतीक हो : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् ।

नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यसलाई पर्यटकीय स्थलमा विकास गर्न र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन् ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको बताउँदै अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटककका लागि गन्तव्य स्थलका रुपमा विकास गर्न सकिने उनले बताइन् । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवर्द्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

सो अवसरमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्ण स्थलका रूपमा सिन्धुलीगढी रहेको बताए ।

उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना हुनुले गौरवपूर्ण इतिहास जोगाउन महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने बताए । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने कार्कीको भनाइ थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिक गढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए । उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको उल्लेख गरे ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा प्रधानसेनापति थापाले नगरप्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गरेका थिए ।

विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो । सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्ताबेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झन्डै दुई हजार ४०० अङ्ग्रेज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org