ताजा समाचार

महाकालीमा बेपत्ता जयसिंह धामीलाई ड्रोनको सहायताले खोज्ने तयारी

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको खोजीमा ड्रोन क्यामेरा प्रयोग गरिएको छ । प्रहरीको प्राविधिक टोलीले महाकालीमा ड्रोनको प्रयोग गरेर खोजी गरिरहेको हो ।

गत शुक्रबार दार्चुलामा व्यास गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा (एसएसबीले डोरी काटिदिएपछि धामी बेपत्ता भएका थिए । तुइन चढेर दार्चुला सदरमुकाम जाने क्रममा भारतीय बाटो प्रयोग गरेको भन्दै एसएसबीले तुइन काटिदिएको थियो । शुक्रबार बिहान कल्याणसिंह धामीले तुइनबाट मान्छे तार्ने क्रममा भारतीय सुरक्षा बलका कर्मचारीले तुइन काटेका थिए ।

तुइन काट्नुअघि चारजना पार गरिसकेका थिए भने तीनजना बाँकी थिए । डोरी काटिदिएर एसएसबी भागेका थिए । त्यसपछि तुइनमा रहेका धामी महाकाली नदीमा खसे । उनी अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीको खोजीका लागि ड्रोन क्यामेरासहित प्रहरीका ११ टोली र सशस्त्र प्रहरीका तीन टोली परिचालन गरिएको छ । यसबाहेक सर्वसाधारण पनि उनको खोजीमा जुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धामीको खोजीका लागि भारतीय सुरक्षा निकायसँग पनि सहयोग मागिएको छ ।

दार्चुलाको उक्त क्षेत्रमा २१ वर्षदेखि तुइनमार्फत सर्वसाधारण वारपार गर्न बाध्य छन् । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । समिति अहिले दार्चुलामै छ ।

समिति हेलिकोप्टरमा घटनास्थलसमेत पुगेको थियो । घटनास्थलमा भारतीय एसएबीसँग अनुसन्धान समिति गएको भन्दै चर्को विरोधसमेत भएको थियो ।

समितिले बेपत्ता धामीका आफन्त, धामीसँगै तुइन तरेर पार भएकाहरु, प्रत्यक्षदर्शी, स्थानीय लगायतसँग घटनाबारे जानकारी लिएको छ । समितिले घटनाबारेको प्रतिवेदन बुझाउने छ ।

प्रत्यक्षदर्शीहरुले भारतीय एसएसवीले तुइन काटेको दाबी गरे पनि नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनले भने यसबारे बोल्न मानेको छैनन् ।

दार्चुलास्थित सुरक्षा एक अधिकारीले भने, “हामी यो घटनाबारे केही बोल्दैनौं । समितिले सबै कुरा हेरिरहेको छ । हामीले आवश्यक सम्वन्य मात्रै गरिरहेका छौं ।”

भारतीय पक्षले भने आफूहरुले तुइन नकाटेको दाबी गरेको छ । दार्चुलाका विभिन्न चार स्थानमा अझै पनि स्थानीयले तुइनकै भरमा महाकाली नदी तर्नुपर्ने बाध्यता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org