ताजा समाचार

अधिवक्ता अर्यालले प्रधानन्यायाधीश पनि भागबण्डामा सहभागी भएको भनेपछि राणा इजलासमै आक्रोशित

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटको संवैधानिक इजलासमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा आक्रोशित भएका छन्।

रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश राणाको समेत भागबण्डामा ती नियुक्तिहरु भएकोले बदर हुनुपर्ने जिकिर बहसका क्रममा गरेपछि राणा आक्रोशित भएका हुन्।

बहसका क्रममा अर्यालले ‘प्रधानन्यायाशीध राणाले समेत भागबण्डा लिएर संवैधानिक नियुक्तिहरु भए। बिहान बैठकमा कोरम नपुग्ने अनि बेलुका अध्यादेश जारी गरेर नियुक्ति गर्ने सरासर गलत हो’, भनेका थिए।

अर्यालले भागबण्डा गरेको भनेपछि संवैधानिक इजलासमै राणा आक्रोशित भएका हुन्।

‘मैले संविधान र कानुनले दिएको दायित्व पूरा गरेको हो। भागबण्डा गर्‍याे भनेर व्यक्तिगत आरोप नलगाउनुहोस्। तपाईँसँग के प्रमाण छ मैले भागबण्डा लिएको? व्यक्तिगत रुपमा आरोप प्रत्यारोपमा उत्रिने? यस्ता कुरा नगर्नुहोस् यहाँ’,उनले इजलासमा आक्रोशित हुँदै भने।

राणा आक्रोशित भए पनि अर्याल आफ्ना कुरामा अडिग रहे। उनले प्रधानन्यायाधीश समेतले भागबण्डा गरेको कुरा बाहिर जनताले भनिरहेको बताए।

‘प्रधानन्यायाधीशले पनि भागबण्डामा नियुक्ति भयो भने बाहिर जनताले भनिरहेका छन् श्रीमान्’, अर्यालले थपे।

जनताले भनिरहेका छन् भनेपछि राणा थप आक्रोशित भए। ‘बाहिर जनताले भने भन्दैमा तपाईँले यहाँ भन्न पाउनुहुन्न’, राणाले भने।

उनले आफ्नाविरुद्धको रिट आफै हेर्नुपरिरहेकाले बरु त्यसको विकल्प दिन आग्रह गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org