ताजा समाचार

फर्किनुअघि सुमारको आग्रह- एमसीसीलाई राजनीतिकरण नगरौं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् ।

राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन होस् भन्ने मेरो चाहना छ’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘म आशावादी छु र राजनीतिक पार्टीहरुलाई गम्भीर बन्न मेरो आग्रह छ ।’

कोरोना महामारीले थलिएको नेपालको अर्थतन्त्रको हितमा एमसीसी महत्वपूर्ण हुने बताउँदै सुमारले नेपालको आर्थिक विकास अमेरिकी चाहना रहेको बताइन् ।

‘नेपालले जतिसक्दो चाँडो यसलाई अनुमोदन गर्छ । त्यति नै यसले नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ सम्झौताको अन्तिम सीमा नरहेको बताउँदै उनले नेपाली संसदले चाँडो निकास दिने विश्वास व्यक्त गरिन् ।

चार दिने नेपाल भ्रमणको अन्तिम दिन भ्रमणको उपलब्धीबारे बताउन सुमारले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उनी सोमबार फर्कने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौं भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेटेकी थिइन् ।

प्रधानमन्त्रीसहितका सत्तारुढ गठबन्धनले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने जानकारी सुमार नेतृत्वको प्रतिनिधिमण्डललाई दिएका थिए । एमाले अध्यक्ष ओलीले भने एमसीसीबारे पहिले सरकारको पोजिसन क्लियर हुनुपर्ने बताएका थिए ।

नेपाल आउनुपूर्व सुमारले सरकारले सोधेका ११ प्रश्नको जवाफ दिँदै एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको बताएकी थिइन् । साथै, एमसीसी हिन्द-प्रशान्त रणनीतिको हिस्सा नरहेको बताएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org