ताजा समाचार

खासमा के भएकाे थियाे बुद्ध एयरकाे जहाजमा?

काठमाडाैँ । बुद्ध एयरले आज आफ्ना जहाजको ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या भएको जनाएको छ।

समस्याका बाबजुद जहाज सकुशल अवतरण भएको कम्पनीले जनाएको छ।

कम्पनीकै भनाइमा यस्तो थियो घटना 
उडान संख्या यू४ ७०१ भएको ९एन–एएनआई कलसाइनको हाम्रो जहाज काठमाडौंबाट आज बिहान विराटनगर उडेको थियो।

जहाजमा वयस्क ६८, बच्चा २ र शिशु ३ गरी कुल ७३ जना यात्रु थिए।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखियो। टावरले पनि गियर नझरेको जानकारी दिएपछि जहाजका क्याप्टेनले पुनः जहाज काठमाडौं फर्काउने निर्णय गरे।

सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंकै आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षित साथ अवतरण गर्न सफल भयौँ।

कम्पनीका अनुसा जहाजमा ल्यान्डिङ गियरका लागि २ इन्डिकेटर हुन्छन्। यसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरमा सबै ठीकै देखिएको थियो। यसरी सेकेन्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्यान्डिङ गियर खुलेकै मानिन्छ।

क्याप्टेनले जहाज काठमाडौं फर्काउने निर्णय आकस्मिक रुपमा लिएका थिए। त्यसपछि जहाज काठमाडौं आएको र बुद्ध एयरको प्राविधिक टोलीको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही र झरेको जानकारी भएको कम्पनीको भनाइ छ।

सोहीअनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा जहाज सामान्य रुपमै अवतरण भएको कम्पनीले जनाएको छ।

यस क्रममा यात्रु र उनीहरुको आफन्तजन र साथीहरुमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले माफी मागेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org