ताजा समाचार

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, प्रदेशसभा बैठक सार्ने तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । सभामुख प्रदीपकुमार भण्डारीले बिहान साढे १० बजेका लागि बैठक बोलाएका थिए ।

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेको आरोप लगाए । सत्ता पक्षका सांसदहरूले भने बाढीपहिरोका कारण सांसद नआइपुगेकाले सहमतिमै सर्नसक्ने बताएका छन् । एमाले सांसद हिक्मतबहादुर कार्कीले बाढीपहिरोका कारण सबै सांसद नआएकाले बैठक सर्ने सम्भावना रहेको बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउने पक्षमा आफूहरू नभएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका छन् । ५ कात्तिक दिउँसो १ बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो । आजको बैठक सार्नुपर्ने पक्षमा सत्ता पक्ष छ । तर, विपक्षी गठबन्धन आजै विश्वासको मत लिनुपर्ने पक्षमा छन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एकजना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org