ताजा समाचार

प्रदेश १ का मुख्यमन्त्रीले ३० गते विश्वासको मत लिने

काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत चाहिएको सूचना आइतबार प्रदेशसभामा दर्ता गराएका छन्।

प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ।

सोही अनुसार कात्तिक ३० अर्थात मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि आज संसदमा सूचना पठाइएको मुख्यमन्त्रीका स्वकिय सचिव सन्दीप राईले जानकारी दिए।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए। त्यसैले मन्त्रालय फुटाउने तयारी छ।’

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।

मुख्य विपक्षी  एमालेसँग  ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org