ताजा समाचार

बारले भन्यो– आन्दोलनमाथि प्रहरी हस्तक्षेप निन्दनीय, आन्दोलन थप सशक्त बनाउने

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्धमैदान बनाउन खोजिएको बताए ।

बिहीबार आयोजित बारको आकस्मिक पत्रकार सम्मेलनमा उनले भने, ‘आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं । अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ ।’

बारले अदालत परिसरमा भएको बल प्रयोगको अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई आग्रह गरेको छ । त्यस्तै भोलिदेखि नै दंगा प्रहरीलाई हटाउन सरकारलाई आग्रह गरेको छ ।

बारले सर्वोच्च परिसरमा दंगा प्रहरी र हतियारधारी प्रहरी प्रवेश गराउनुको औचित्य पुष्टि गर्न पनि सर्वोच्च प्रशासनलाई आग्रह गरेको छ । ‘सन्तोषजनक ढंगको जवाफ आएन भने यो विषयलाई हामी अन्तर्राष्ट्रियकरण गर्नेछौं’ उपाध्यक्ष भट्टराईले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org