ताजा समाचार

अब कारबाहीस्थलबाटै ट्राफिक जरिवाना तिरी तत्काल कागजात लिन सकिने

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’को सुरुवात गरेको छ।

बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधनधनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिन सक्ने व्यवस्थाको सुरुवात गरेको हो।

तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए। उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताए।

प्रमुख भट्टराईले भने, ‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यसबीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ। बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो। यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो वेलामा सहज बनाउनुपर्छ भनेर फिल्डबाट नै मुक्ति दिन यो व्यवस्थाको सुरुवात गरेका हौँ।’

उनले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप पाँचवटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने जानकारी दिए। प्रमुख भट्टराईले कारबाहीमा परेकाहरूको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए।  ‘डिजिटल इन्ट्री फिल्डमा नै हुन्छ । पहिलेको जस्तो कागजपत्र अफिसमा ल्याएर इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने सिस्टम हटेर यो सिस्टम लागू हुन्छ। कसैले तत्काल लिन चाह्यो भने रकम भुक्तानी गरेर तत्काल लिन सकिन्छ। उहाँले अनलाइन वा क्युआरकोडबाट तिर्न सक्नुहुन्छ,’ उनले भने।

महाशाखाले पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच ठाउँमा यो सेवा सुरु गरेको हो। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरूका लागि भने रकम भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउनेछैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org