ताजा समाचार

हिउँले सेताम्‍मे हुम्‍ला (फोटो फिचर)

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ ।

बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको हो । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम निकै घटेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुकाका स्थानीय लाप्का लामाले जानकारी दिए । उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रन नसक्दा चिन्तामा रहेका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाडका स्थानीय हिमपातसँगै खुसी भएका हुन् । हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकसमेत राहत भएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org