ताजा समाचार

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन

काठमाडौँ । नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई तीन दिनको म्याद दिई राय/सुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हो ।

शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न प्रतिस्पर्धामा रहेका तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org