ताजा समाचार

प्रधानमन्त्री देउवालाई अमेरिकी बिदेशमन्त्रीको टेलिफोन, एमसिसी र युक्रेनबारे छलफल

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनले नेपाली समय अनुसार मंगलबार राती टेलिफोन गरेका छन् ।

नेपालको संसदले सोमबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गरेकोमा खुशी व्यक्त गर्दै ब्लिङ्केनले युक्रेनमा भएको रुसी आक्रमण र कोभिड १९ पछि अर्थतन्त्र पुनरुत्थानकका बिषयमा पनि छलफल गरेका छन् । एमसिसी पारित भएको भोलिपल्ट मंगलवार उनीहरुबीच टेलिफोन कुराकानी भएका हो ।

‘बिदेशमन्त्री ब्लिङ्केनले संयुक्त राज्य अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको उल्लेख गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनामार्फत् नेपाली जनताको रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो’ अमेरिकी बिदेश मन्त्रालयद्धारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

बिदेशमन्त्री ब्लिङ्केन एमसिसी बोर्डका अध्यक्ष हुन् । नेपाल र अमेरिकाबीच कोभिड–१९ महामारीबाट अर्थतन्त्रको पुनरुत्थान प्रयासलाई बलियो बनाउन र जलवायु संकटलाई सम्बोधन गर्ने दिशामा सहकार्यमा पनि जोड दिएका छन्।

बिदेशमन्त्री ब्लिङ्केनले युक्रेनमा रूसको ‘अव्यावहारिक, अनुचित र पूर्वनियोजित आक्रमण’ भएको भन्दै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता सम्बन्धी  संयुक्त राष्ट्रसंघीय बडापत्रका सिद्धान्तहरूको सम्मान हुनुपर्ने विषयमा पनि चर्चा गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा युक्रेनका पक्षमा आवाज उठाउने मुलकमा नेपाल पनिछ । छिमेकी भारत तटस्थ र अर्को छिमेकी चीन रुसको कित्तामा उभिएका छन् । युक्रेनका मामिलामा नेपाल र अमेरिका एउटै कित्तामा उभिएका छन् ।

नेपालले संयुक्त राष्ट्रसंघीय महासभाको आपतकालिन विशेष शत्रमा पनि युक्रेनमाथि भएको हमलाको निन्दा गर्दै रुस र युक्रेनबीच वार्तामा जोड दिएको छ । राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राईले सार्वभौम मुलुकमाथिको हमला वा धम्कीको नेपालले विरोध गर्ने स्पष्ट पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org