ताजा समाचार

बयानका लागि पल शाहलाई गैंडाकोट पुर्‍याइयो

काठमाडाैँ । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ ।

किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।

जिल्ला प्रहरीका सूचना अधिकारी दिलिप गिरीले बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिए । तनहुँमा पनि उनै किशोरीले शाहले बलात्कार गरेको भन्दै दुई साताअघि मुद्दा दर्ता गरेको विषयमा अनुसन्धान गर्न शाहलाई प्रहरीले हिरासतमा राखेर गरेको अनुसन्धान पूरा भएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

गत चैत ७ गते बलात्कार गरेको आरोपपत्रमा उल्लेख भएका कारण आगामी चैतको ६ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने जिल्ला प्रहरी कार्यालयलाई बाध्यता छ । गैंडाकोटमा दुई साताअघि दर्ता गराएको निवेदन अनुसार एकै दिनमा सकिने छायांकनको काम दुई दिन लगाएर गैंडाकोटको होटलमा रक्सी खुवाएर आफूलाई बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन् ।

त्यतिबेला इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । शाहविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा बलात्कारको अभियोग लगाएर मुद्दा दर्ता गराउने किशोरी एउटै भएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org