ताजा समाचार

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ ।  नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत तनहुँले अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

नाबालिग गायिकाले जाहेरी दिएपछि शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए।

शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ।

बिहीबार मात्रै नवलपुर जिल्ला अदालतमा उनीविरूद्ध बलात्कारको मुद्दा दायर भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो।

नवलपुरमा उनलाई १२-१४ वर्ष कैद सजायको मागदाबी गरेको छ। यस्तै नाबालिगमाथि यौन हिंसा गरेको भन्दै ४ लाख क्षतिपूर्ति समेत माग गरिएको छ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ।

तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।

यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org