ताजा समाचार

भारतले दियो नेपाललाई ३७५ मेगावाट निर्यात गर्ने अनुमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री र देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई यति धेरै परिमाणमा बिजुली निर्यात गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । नेपालले वर्षायामअघि नै भारतले अनुमति दिनुपर्ने माग गरेको थियो ।

व्यापार विभागका निर्देशक अधिकारीका अनुसार भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मस्र्याङ्दी (७० मेगावाट), मस्र्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ६७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएको थियो ।

यसअघि भारतले नेपाललाई उसैले निर्माण गरेका त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को मात्र निर्यात अनुमति दिएको थियो । दुई वर्षअघिदेखि वर्षायाममा नेपालको बिजुली खपत हुन नसकी जगेडा रहँदै आएको थियो ।

गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय नवौं ‘संयुक्त सञ्चालन समिति’ (जेएससी) को बैठकमा नेपालले वर्षायामअघि नै जगेडा बिजुली निर्यात गर्न औपचारिक रुपमै आग्रह गरेको थियो ।

उक्त बैठकमा भारतले वर्षायामअघि नै निर्णय गरिने प्रतिबद्धता जनाएको थियो । अब आउने वर्षयाममा करिब एक हजार मेगावाट विजुली जगेडा हुने देखिएको छ । यो वर्ष ७ सय मेगावाट खेर गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org