ताजा समाचार

बजारमा हल्ला चलेजस्तो नेपालको अर्थतन्त्र नाजुक छैनः मुख्यसचिव बैरागी

काठमाडाैँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले बजारमा हल्ला चलेजस्तो नेपालको अर्थतन्त्र नाजुक नरहेको स्पष्ट पारेका छन् ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको अवस्था हल्ला चलेजस्तो त्यति नाजुक नरहेको बताएका हुन् ।

‘बजारमा हल्ला चलेजस्तो त्यति नाजुक छैन अवस्था,’ मुख्यसचिव वैरागीले भने, ‘निजी क्षेत्रलाई हतोत्साहित नहुन, नअत्तालिन आग्रह गर्छु ।’

सरकार निजी क्षेत्रसँग खुला हृदयले छलफल गरेर अगाडि बढ्न तत्पर र प्रतिबद्ध रहेको समेत उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धि, विदेशी लगानीमा प्रतिबद्धताअनुरूप लगानी नआइरहेको अवस्था, पर्यटन क्षेत्र सोचेजति अगाडि नबढ्नु जस्ता कारणले विदेशी मुद्रा सञ्चितिमा सुधार आउन नसकेको मुख्यसचिव वैरागीले बताए ।

लगानी भित्र्याउनका लागि वातावरण सहज बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।  कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हालसम्म नभोगेको २ किसिमको विपत्ति भोगेको स्मरण गरेका छन् । भूकम्पले थलिएको अर्थतन्त्र तंग्रिँन नपाउँदै कोरोनाले निकै तहसनहस बनाएको उल्लेख गरे ।

‘यस्तो अवस्थामा निजी क्षेत्र पुनः उठ्नुपर्नेछ, त्यसका लागि सरकारको खाँचो छ,’ उनले भने । पछिल्लो समय उत्साहजनक हिसाबले अर्थतन्त्र चलायमान भइरहँदा अर्थतन्त्रले थेग्न नसकेको बताए ।

बिस्तारै पर्यटन क्षेत्र चलायमान हुँदै जाँदा विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने उनको विश्वास छ । मुलुक श्रीलंका जस्तो नबनेको बताउँदै उनले सरकारले यसबाट बच्न काम गर्नुपर्नेमा जोड दिए ।

‘हामी श्रीलंका होइन, समृद्ध नेपाल बन्छौं,’ उनले भने । उनले सरकारले सहयोग गरेमा मुलुक छिटो आर्थिक विकासमा अगाडि बढ्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org