ताजा समाचार

अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारीपन हो: शेखर कोइराला

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिनु गैरजिम्मेवारीपन भएको बताएका छन्।

आज निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्थामा जाने बताए।

‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्था छ। त्यो अर्थतन्त्र ओरालो लागेको बेलामा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिएको छ त्यसले झन् अप्ठ्यारो परिस्थितिमा जान्छ भन्नेमा दुईमत छैन,’ उनले भने, ‘किनभने नेपालको अर्थतन्त्रलाई विश्व बैंकलगायतले सुष्म ढंगले हेरिरहेका छन्।’

अर्थमन्त्री जनार्दन शर्मासँग कुरा मिलेन भनेर गभर्नर निलम्बन गर्न नहुने उनले बताए। ‘अर्थतन्त्र ओरालो लागेको बेलामा अर्थमन्त्रीसँग तालमेल मिलेन रे, उहाँले कुरा सुन्नु भएन रे भनेर निलम्बन गर्नु गैरजिम्मेवार हो,’ उनले भने।

उनले ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताए।

‘अर्थ मन्त्रालयले गलत काम गरेको छ भने रोक्ने काम राष्ट्र बैंकले गरिरहेको हुन्छ,’ उनले भने।

साथै कोइरालाले सुपारी, मरिच, छोकडा, मटरदानाको आयात किन भइरहेको छ भन्ने प्रश्न गरेका थिए। यस्ता बस्तु आयात गर्दा अर्बौं विदेशी रकम खर्च हुने उनको भनाइ छ। ‘यति धेरै सुपारी किन चाहियो नेपाललाई? त्यसको जवाफ सरकार र अर्थमन्त्रालयले दिनुपर्छ,’ उनले भने।

यस्ता आयात रोक्न खोजेर गभर्नरले गल्ती नगरेको उनले बताए। ‘उहाँका केही कमीकमजोरी होलान् तर अर्थतन्त्र ओरालो लागेको बेलामा गभर्नर निलम्बन गर्नु सरासर गैरजिम्मेवारपन हो,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org