ताजा समाचार

श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ : पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताएका हुन् । नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता ब्यक्त गरे। “श्रमको सम्मान गर्ने कामको थालनी नेपाली कांग्रेसको नेतृत्वमा भएको हो, श्रमलाई हेला गर्ने प्रवृत्तिको अन्त्य पनि कांग्रेसले नै गर्छ” उनले भने ।

समाजवादको लक्ष्य निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै पौडेलले कांग्रेसको मूल लक्ष्य त्यही भएको जिकिर गरे । गाउँ–गाउँमा रोजगारी र आम्दानीलाई सार्थक बनाउन कांग्रेस नेतृत्वको सङ्घीय, प्रदेश र स्थानीय सरकार लागिपर्ने पौडेलको भनाई थियो ।

उनले भने, “विगतमा धेरै सरकार बने पनि श्रमिकको सम्मान हुन सकेन, निर्वाचनपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै श्रमिकलाई सम्मानजनक रोजगारीको ग्यारेन्टी गर्नेछ ।” नेता पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दावी गरे । “२३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ,” उनले भने । नेता पौडेलले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पु¥याउन गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको धारणा ब्यक्त गरे ।

देशलाई स्थायित्वमा लैजान आवश्यक रहेको र त्यसको नेतृत्वले अहिले कांग्रेसले गरेको उनको भनाई थियो । “गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु हो, गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक छैन, सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ,” उनले भने । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार बैकुण्ठ न्यौपानेले श्रमिकका हकहितका लागि आफूले सङ्कल्प गरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org