ताजा समाचार

तारा एयर विमान दुर्घटना अपडेट: १६ जनाको शव भेटियो, पहिचान हुन सकेन

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो ।

फेला परेका शवको पहिचान गर्न नसकिने अवस्थामा छन् । संकलन गरिएका शवलाई काठमाडौं ल्याइनेछ । पोस्टमार्टमपश्चात परिवारलाई बुझाइनेछ । मौसम खराबीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो । सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

को को थिए विमानमा ?

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिस्मी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलन सवार थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org